karma-book-blog-banner

प्रश्न: के मेरा नजिकका मानिसहरूले मेरो कर्ममा योगदान दिइरहेका छन्? यदि छन् भने, म यसलाई कसरी सम्हाल्न सक्छु?

सद्‌गुरु: यो नसोच्नुहोस् कि ठीक हुनुपर्ने आवश्यकता तपाईंको परिवारलाई छ ! के थाहा कसको कर्मबाट कसले दुःख भोगिरहेको छ? सायद उनीहरूले अरु नै केहि भन्नेछन् होला! यदि तपाईंलाई लाग्छ कि तपाईंको परिवार खराब छन्  – उनीहरू त्यस्ता बनेका होलान्, तर उनीहरु त्यही अवस्थामा नरहन सक्छन्; चन्द्रमाको जस्तो उनीहरूको पनि चरणहरु हुन्छ। उनीहरूको अनुहार कहिले हँसिलो हुन्छ त कहिले रिसाएको जस्तो हुन्छ। यस्तो किन हुन्छ भने एउटा परिवारमा निकै धेरै निकटता हुन्छ।

तपाईंको जीवन, तपाईंको जिम्मेवारी

तपाईंको जीवनमा जे हुन्छ त्यो तपाईंकै जिम्मेवारी हो; अर्थात् त्यो तपाईंको कर्म हो, तपाईंकै कार्य हो। जब तपाईं आध्यात्मिक मार्गमा हुनुहुन्छ र "कर्म" शब्द उच्चारण गर्नुहुन्छ, त्यसले सधैं आफूलाई जनाउनु पर्छ। कसैको पीडादायी अवस्थालाई उसको कर्मसँग जोडेर हेर्नु पूर्णतया अनुचित हो; यसले तपाईंभित्रको मानवीय संवेदना नै नष्ट गर्छ। अरूको कर्म कहिल्यै तपाईंको सरोकारको विषय होइन । अरु मानिसलाई पीडादायी अवस्थामा भएको हेर्नुपर्ने कर्म वास्तवमा तपाईंको हो।

चाहे जस्तोसुकै घटना घटोस्, त्यो तपाईंकै नै हो; तपाईंको जीवनमा भएको हुनाले त्यो तपाईंको कर्म हो। तपाईं आफ्नो वरपरका मानिसहरूबाट पीडित हुनुहुन्छ वा खुशी, त्यो तपाईंको कर्म हो।

जब तपाईंले अरूको कर्मको बारेमा सोच्नु हुन्छ, तब तपाईं एक दुष्ट शक्तिमा परिणत हुनुहुन्छ। दुष्ट भन्नाले बस् जानि-बुझी दुष्ट बन्ने होइन; दुष्ट अर्थात् तपाईं यस्तो बन्नुहुन्छ कि तपाईंले जे गरे पनि त्यसले वरिपरिका मानिसहरूलाई नकारात्मक रूपमा प्रभावित गर्छ। जब तपाईंले अरूको कर्मको बारेमा सोच्न थाल्नुहुन्छ, तब तपाईं त्यही दिशामा जानुहुन्छ।

हामी आध्यात्मिकतामा यही कुरालाई ठीक गर्न खोजिरहेका छौं; कि तपाईंले बुझ्नुपर्छ कि चाहे जस्तोसुकै घटना घटोस्, त्यो तपाईंकै नै हो; तपाईंको जीवनमा भएको हुनाले त्यो तपाईंको कर्म हो। तपाईं आफ्नो वरपरका मानिसहरूबाट पीडित हुनुहुन्छ वा खुशी, त्यो तपाईंको कर्म हो।

त्यसैले परिवारबाट आउने कर्मको बारेमा चिन्ता नगर्नुहोस् – त्यस्तो केही हुँदैन; "परिवार" केवल तपाईंको दिमागमा मात्र छ। को तपाईंको परिवार हो र को होइन, कसलाई तपाईं नजिक मान्नुहुन्छ र कसलाई मान्नुहुन्न, यी सबै तपाईंको दिमागले बनाएका हुन्। यदि तपाईंसँग दिमाग नहुँदो हो भने, परिवारको अवधारणा नै तपाईंको लागि अस्तित्वमा रहने थिएन; अर्थात् उनीहरू तपाईंको कार्य, तपाईंको कर्म हुन्।

तपाईंले यो बुझ्नुपर्छ कि तपाईंको जीवनमा जे हुन्छ त्यो तपाईं नै हो। यदि तपाईं यसबारे सचेत बन्नुहुन्छ भने, तपाईं एक व्यक्ति बन्नुहुन्छ। अन्यथा, तपाईं छरपष्ट रहनुहुन्छ; किनभने मानिसहरू धेरै छरपष्ट हुन्छन्, धेरै कुराहरूसँग पहिचान गर्छन्, त्यसैले उनीहरूलाई एक सम्पूर्ण जीव बन्न धेरै समय लाग्छ। त्यो हुनासाथ, तपाईंले खोजिरहेको कुरा तत्काल तपाईंको बन्न सक्छ!

karma-book-blog-banner