कर्मको रेकर्ड
एक साधकले सद्गुरुलाई सोध्छन्, कर्म यति धेरै तरिकाले निरन्तर रेकर्ड भइरहेको छ, के यो मानिसलाई दुःखमा अल्झाई राख्ने एउटा विस्तृत जाल हो? सद्गुरुले व्याख्या गर्नुहुन्छ कि, एकपटक तपाईं बाध्यताको सट्टा सचेतन चुनावद्वारा जीवन जिउन थाल्नुहुन्छ भने, तपाईंसँग जस्तोसुकै कर्म भए पनि, त्यसबाट के बनाउने भन्ने कुरा १००% तपाईंको हातमा हुन्छ।

प्रश्न: सद्गुरु, अर्को दिन जब तपाईं कर्मको बारेमा बोल्दै हुनुहुन्थ्यो, तपाईंले भन्नुभयो कि जीवनसँग मानिसमा कर्म रेकर्ड गर्ने धेरै ब्याकअप प्रक्रियाहरू छन्; मन, शरीर, र ऊर्जा। मनले काम गर्न बन्द गरे पनि, यो अझै शरीर र ऊर्जाद्वारा रेकर्ड हुन्छ। मलाई त यो सबैलाई दुःखमा राख्ने एउटा निकै विस्तृत र दुष्ट षड्यन्त्र जस्तो लाग्छ। यस्तो किन हुन्छ?
सद्गुरु: हेर्नुहोस्, जब म बोल्छु, तपाईंसँग मेरो कर्म रेकर्ड गर्ने तीनवटा रेकर्डर छन्, जुन यो सुनिश्चित गर्नको लागि एक दुष्ट चाल हो कि म कहिले पनि आफ्नो वचनबाट पछाडि हट्न सक्ने छैन। यदि म कुनै अज्ञात क्षणमा कुनै वाचा गर्छु भने तपाईंसँग ३ वटा रेकर्डिङ हुनेछ जसले यो सुनिश्चित गर्नेछ कि म पछाडि हट्न सक्ने छैन।
अब कर्म तपाईंले बुझ्नुभएको जस्तो छैन। यसमा कुनै दुष्टता छैन; तपाईं जे हुनुहुन्छ त्यो तपाईंको कर्मकै कारणले हुनुहुन्छ। तपाईं जन्मनुभएको क्षणदेखि यस क्षणसम्म, तपाईंले गर्नुभएको, सोच्नुभएको, महसुस गर्नुभएको र अनुभव गर्नुभएको प्रत्येक कुरा, त्यो तपाईंको कर्म हो; तपाईं अहिले जस्तो हुनुहुन्छ त्यो त्यसकै कारणले हो। तपाईंलाई यो ठाउँमा ल्याएको पनि त्यसैले नै हो। त्यसैले कर्म कुनै दुष्ट षड्यन्त्र होइन; हो, यो एउटा बन्धन हो, तर कर्म सुरक्षा पनि हो। कर्म अहिले तपाईंको भौतिक अस्तित्वको मूल आधार हो; यदि कर्मको पदार्थ छैन भने, आफूलाई यो शरीरसँग बाँध्ने कुनै तरिका रहँदैन। कर्म त्यो सिमेन्ट हो जसले तपाईंलाई यो शरीरसँग बाँधेको छ; यदि हामीले तपाईंको सबै कर्म हटायौं भने, यही क्षण तपाईंले आफ्नो शरीर त्याग्नुहुनेछ, र हामी त्यो अहिले गर्न चाहँदैनौं। त्यसैले, रेकर्डिङहरू यो सुनिश्चित गर्न भइरहेका छन् कि, तपाईंको शरीर, मन, संवेदना, र ऊर्जाको स्तरमा, तपाईंको कुनै पनि कुरा कहिल्यै नहराओस्।
तपाईंमा रहेको सबैभन्दा आधारभूत प्रवृत्ति आत्म-संरक्षणको हो; आफूलाई संरक्षण गर्न, तपाईंले आफ्नो वरिपरि एउटा पर्खाल बनाउनुभयो र केही समयसम्म यो पर्खाल र यसले दिने सुरक्षाको आनन्द लिनुभयो। तर तपाईंभित्र अर्को यस्तो भाग छ जो सधैं असीमित रूपमा विस्तार हुन खोजी रहेको छ। अब, तपाईंको त्यो आयामले अचानक तपाईंलाई भन्न थाल्छ कि यो पर्खाल एउटा जेल हो; यसले पर्खाल भत्काएर बाहिर जान चाहन्छ। तर तपाईंको अर्को भाग छ जो आत्म-संरक्षणको लागि संघर्ष गरिरहेको छ, जसले पर्खाललाई बलियो बनाउन चाहन्छ; यसले पर्खाललाई मोटो र अझ मोटो बनाउन चाहन्छ। यदि तपाईंले मानवलाई हेर्नुहुन्छ र चार्ल्स डार्विनको अनुसार जानुहुन्छ भने, पशु प्रकृति तपाईंको इतिहास हो; तर तपाईंमा यस्तो केही छ जो निरन्तर विस्तार गर्न चाहन्छ। यदि तपाईंले यो चाहनालाई हेर्नुभयो भने, तपाईंले देख्नुहुनेछ कि यो कुनै पनि बिन्दुमा समाप्त हुने छैन; यो असीमित नभएसम्म सन्तुष्ट हुने छैन।
कर्मको महल
तपाईंको इतिहास पशुवत हो; तपाईंको भविष्य देवत्व हो; अहिले तपाईं पेन्डुलम जस्तै दुईबीच झुलिरहनुभएको छ। तपाईंको एउटा भाग, तपाईंमा सबैभन्दा बलियो प्रवृत्ति, आत्म-संरक्षण हो। तपाईंको अर्को भागले सबै सीमाहरू तोड्न चाहिरहेको छ। कर्म आत्म-संरक्षणको पर्खाल हो। तपाईंले एक समय ठूलो सावधानीका साथ यसलाई बनाउनुभयो, तर अब तपाईंले आफूलाई कैद गरेको महसुस गर्नुहुन्छ। कर्म आत्म-कैदको एउटा महल हो; तपाईं यससँग केहि गर्न सक्नुहुन्न; तपाईं यसबिना पनि केहि गर्न सक्नुहुन्न। त्यो नै समस्या हो। त्यसैले अब तपाईं आफ्नो जेलको आकार बढाउने प्रयास गर्नुहुन्छ, तर मानौं हामीले तपाईंलाई ५ x ५ को सानो कोठामा थुन्यौं; हामीले तपाईंलाई त्यहाँ पूर्ण रूपमा तपाईँको इच्छा विपरीत थुनेर राख्यौं भने - तब तपाईं स्वतन्त्रताको लागि चाहना राख्नुहुनेछ। तपाईंको लागि स्वतन्त्रताको विचार आश्रमको पर्खाल हुनेछ। यदि हामीले तपाईंलाई त्यसबाट बाहिर निकाल्यौं भने, यो ठूलो स्वतन्त्रता जस्तो लाग्छ, तर तीन दिनभित्र तपाईं पहाड हेर्नुहुनेछ, आकाश हेर्नुहुनेछ र गेट हेर्नुहुनेछ र तपाईंको स्वतन्त्रताको विचार आश्रमको गेटबाट केही अरू तिर विस्तार हुनेछ; हामी भन्नेछौँ, ठीक छ तपाईं थानिकान्डीसम्म जान र आउन सक्नुहुन्छ। त्यो केही समयको लागि अद्भुत स्वतन्त्रता जस्तो देखिन्छ, तर त्यसपछि तपाईं कोयम्बटुर जान चाहनुहुन्छ। यदि तपाईंले कोयम्बटुरमा पर्याप्त यात्राहरू गर्नुभयो भने, तब तपाईंलाई कोयम्बटुर पर्याप्त छैन जस्तो लाग्छ; तपाईंमध्ये परम्परागत आध्यात्मिकताबाट धेरै प्रभावित हुनु भएकोहरू हिमालय जान चाहनुहुनेछ; अन्यथा, तपाईं ठूलो शहर वा त्यस्तै कुनै ठाउँमा जान चाहनुहुनेछ। त्यसैले तपाईंको कैदको विचार निरन्तर परिवर्तन भइरहेको छ; तपाईंको स्वतन्त्रताको विचार पनि निरन्तर विकसित भइरहेको छ।
जीवनलाई चरण दर चरण रूप बुझ्न र अन्तिममा मूर्ख जस्तो महसुस गरेर मर्न किन आफ्नो पुरा जीवनकाललाई बर्बाद गर्ने ? यसलाई हेर्ने यो नै समय हो; तपाईंको स्वतन्त्रताको विचार असीमता छ। तपाईंको अस्तित्व असीमताभन्दा कम कुनै कुरामा सन्तुष्ट हुने छैन; यदि तपाईंले आफूलाई हेर्नुभयो भने त्यो स्पष्ट छ। यदि तपाईं असीमित हुन चाहनुहुन्छ भने, भौतिक बाधाहरूलाई तोड्दा यसले तपाईँलाई असीमित बनाउने छैन किनभने भौतिक कहिल्यै असीमित हुन सक्दैन; यदि तपाईंले भौतिक वास्तविकताको सीमाहरू पार गर्नुभयो भने मात्र, यदि तपाईं भौतिक अस्तित्व भन्दा माथि जानुभयो भने मात्र, असीमताको सम्भावना छ।
आफ्नो सचेतन चुनावद्वारा जिउने
कर्म त्यो आधार हो जसद्वारा तपाईं भौतिकतासँग जोडिनुहुन्छ; यसबिना, जोडिने कुनै उपाय छैन। त्यसैले प्रकृतिले सुनिश्चित गरिरहेको छ, वा भनौँ सृष्टिकर्ताले सुनिश्चित गरिरहेको छ कि तपाईंसँग काम गर्न एउटा आधार छ। शरीर बिना कुनै खोज हुन सक्दैन। एक शरीरविहीन प्राणी आफ्नो चुनावद्वारा खोज गर्न सक्दैन। ऊ केवल प्रवृत्तिद्वारा खोज्न सक्छ, छनोटद्वारा कहिल्यै सक्दैन, जबसम्म ऊ एउटा निश्चित बिन्दुसम्म विकसित हुँदैन। तर शरीरधारी प्राणीको लागि, वास्तवमा हरेक क्षण एक विकल्प हुन्छ । यदि तपाईं आफ्नो जीवनमा सचेत हुनुहुन्छ भने, हरेक क्षण चुनावद्वारा हुन्छ।
ब्रह्मचर्य वा सन्यास को अर्थ हो कि तपाईं सचेतन छनोटद्वारा बाँचिरहनुभएको छ। अब यो छनोटको प्रक्रियालाई जीवन्त वास्तविकता बनाउन, हामीले योगमा धेरै कुराहरू तयार गरेका छौं। बिहानीपख, तपाईं आफ्नो ओछ्यानमै पल्टीराख्न मन पराउनुहुन्छ। त्यो शरीरको स्वाभाविक प्रवृत्ति हो, तर अब तपाईं बिहान आसन गर्नुहुन्छ। तपाईं अचेत भएर ओछ्यानमा पल्टीराख्न सक्नुहुन्छ, तर तपाईं अचेत भएर बिहान आसन गर्न सक्नुहुन्न। स्वाभाविक रूपमा शरीरको चालको सम्पूर्ण प्रक्रिया सचेत बन्छ। अब तपाईं आफ्नो जीवनमा त्यस सचेतनाको पक्ष ल्याउन चाहनुहुन्छ - सचेत विचार, सचेत भावना, सचेत रूपमा बाँच्ने तरिका। जीवन ऊर्जा नै सचेत बनिरहेको हुन्छ किनभने तपाईं सचेत हुनुभयो भने मात्र तपाईंको जीवन चुनावद्वारा चल्छ। अन्यथा तपाईंको जीवन बाध्यताद्वारा चल्नेछ। स्वतन्त्रता र बन्धनबीचको भिन्नता यही नै हो - के तपाईं अहिले बाध्यता द्वारा काम गरिरहनुभएको छ वा सचेतन चुनावद्वारा।
मानिसका लागि धेरै प्रकारका कर्महरू हुन्छन् र तिनका फल सधैं त्यहाँ रहेका हुन्छन्, तर त्यसबाट तपाईंले पल-पलमा के बनाउनुहुन्छ, त्यो सधैं तपाईंमा निर्भर गर्छ - त्यो तपाईंको हातमा हुन्छ। तपाईंसँग कस्तो प्रकारको कर्म छ भन्ने कुराले केही फरक पार्दैन - यस पलको कर्म सधैं तपाईंको हातमा छ। यदि तपाईं सचेत हुन इच्छुक हुनुहुन्छ भने, यस पलमा, खुसी रहनु वा दुःखी रहनु भन्ने कुरा १००% तपाईंकै छनौटमा निर्भर गर्छ। त्यसैले, कर्मलाई रेकर्ड गरिनु, वा मलाई रेकर्ड गर्नका लागि तपाईंले तीन तरिकाहरूको प्रयोग गर्नु समस्या होइन किनभने म मेरो शब्दहरूबाट कहिल्यै पछि हट्ने वाला छैन। त्यसोभए मेरो समस्या के छ? यदि तपाईं चाहनुहुन्छ भने ३०० रेकर्डरहरूको प्रयोग गर्नुहोस्। तपाईंले एउटै कुरा रेकर्ड गर्नुहुनेछ। प्रकृतिले लाखौं तरिकाहरूले रेकर्ड गरिरहेको छ। तपाईंको समस्या के छ? तपाईं केवल अगाडि बढ्न सक्नुहुन्छ। तपाईं त्यसको पछाडि जान सक्नुहुन्न। त्यसैले, तिनीहरूलाई रेकर्ड गर्न दिनुहोस्। स्वर्गदूतहरू, राक्षसहरू र सबैलाई रेकर्ड गर्न दिनुहोस्। रूखहरू र जनावरहरू र कीराहरूलाई तपाईंका कर्महरू रेकर्ड गर्न दिनुहोस्। तपाईंको समस्या के छ?
Editor’s Note: Find more of Sadhguru’s insights in the book “Of Mystics and Mistakes.” Download the preview chapter or purchase the ebook at Isha Downloads.