प्रश्न: बानी छुट्न गाह्रो हुन्छ भन्छन्। के कोक्रोमा विकास भएका गुणहरू हाम्रो मृत्युसँगै मात्र मर्छन्?

सद्‌गुरु: यसलाई फरक दृष्टिकोणबाट हेरौं। बानी मूलतः यसकारण बस्दछ, किनकि यसले तपाईंको जीवनमा केही सहजता ल्याउँछ - यसले तपाईंको जीवनको केही पक्षहरूलाई स्वचालित बनाउँछ। तपाईंले यसको बारेमा केही सोच्नु वा विचार गर्नु पर्दैन। तपाईं यसलाई यत्तिकै पनि गर्न सक्नुहुन्छ।

स्वाभाविक रूपमा, मानिसको आत्म-रक्षाको प्रवृत्ति अनुसार, उसले केही बानीहरू बनाउँछ किनभने अन्य जनावरहरू जसरी हामीले लिएर आएका धेरै गुणहरू निश्चित छैनन्। अन्य जनावरहरूको लागि, उनीहरूका धेरैजसो गुणहरू निश्चित छन्। तपाईंले एउटा कुकुर र अर्को कुकुरबीच, एउटा बिरालो र अर्को बिरालोबीच अलि-अलि फरक मात्र देख्नुहुन्छ। उनीहरूको आफ्नै व्यक्तित्व छ, तर उनीहरूका धेरैजसो गुणहरू निश्चित छन्। हाम्रो लागि अत्यन्त थोरै कुरा निश्चित छ। मानिसको लागि लगभग सबैकुरा खुला रहेको छ। यसैकारण, एउटा बच्चाको रूपमा, तपाईं आफ्नो भित्र एउटा सुरक्षा ढाँचा बनाउने प्रयास गर्नुहुन्छ जहाँ तपाईं आफ्नै ढाँचाहरू सिर्जना गर्ने प्रयास गर्नुहुन्छ।

ढाँचाहरू बाट छुटकारा पाउने 

प्रत्येक बच्चाले जीवन-संरक्षणको लागि केही बानीहरू सिर्जना गर्छ। यही जीवित रहने प्रवृत्ति हो। यी ढाँचाहरूको कारण, उसले सजिलोसँग काम गर्न सक्छ। एउटा बच्चाको लागि यो धेरै सान्दर्भिक छ। तर सामान्यतया, बच्चाहरूले आफू बढ्दै जाँदा यी ढाँचाहरूलाई हटाउँछन्, जुन उनीहरूको वरिपरि सिर्जना हुने जानकारी र चेतनाको स्तरमा भर पर्छ। जानकारी वा शिक्षाको माध्यमबाट, मानिसहरू परिवर्तन हुन्छन्। मानिसहरू यति अविश्वसनीय रूपमा परिवर्तन हुन्छन् कि उनीहरू तीन वर्षको लागि बाहिर गएर फर्किन्छन्, र त्यसपछि अभिभावकहरूले आफ्नो बच्चालाई चिन्नै सक्दैनन्। फरक स्तरको जानकारीको कारण उनीहरूको बारेमा सबै कुरा परिवर्तन भएको हुन्छ।

यदि कुनै व्यक्तिले आध्यात्मिक मार्ग अपनाउँछ भने, उसका सबै बानीहरू छुट्नेछन् किनभने त्यहाँ राम्रो बानी र नराम्रो बानी भन्ने जस्तो केही पनि हुँदैन।

डराएका र लगातार आत्म-संरक्षणमा व्यस्त रहने व्यक्तिहरूले मात्र आफ्ना पुराना बानीहरू सजिलै छोड्न सक्दैनन्। जो उत्साहित र साहसिक जीवनको खोजमा हुन्छन् - उनीहरूले आफ्नो बानीलाई धेरै सजिलै छोड्न सक्छन् किनभने उनीहरू आफ्नो जीवनलाई सधैं त्यसरी पुनर्निर्माण गरिरहेका हुन्छन्, जसरी कुनै विशेष परिस्थितिले माग गर्छ।

यदि कुनै व्यक्तिले आध्यात्मिक मार्ग अपनाउँछ भने, उसका सबै बानीहरू छुट्नेछन् किनभने त्यहाँ राम्रो बानी र नराम्रो बानी भन्ने जस्तो केही पनि हुँदैन। सबै बानीहरू नराम्रा नै हुन्। तिनीहरू तपाईंको जीवनको कुनै निश्चित चरणमा बाँच्ने साधन हुन सक्छन्, तर एकपटक तपाईं ठूलो भइसकेपछि तपाईंसँग कुनै बानी हुनुहुदैँन, राम्रो वा नराम्रो दुवै हुनु हुँदैन, किनभने बानी अर्थात् तपाईंले आफ्नो जीवन अचेत रूपमा सञ्चालन गर्न सिक्दै हुनुहुन्छ भन्ने हो। त्यो सुरक्षित देखिन सक्छ, तर यसले तपाईंलाई विभिन्न तरिकाले जीवनबाट टाढा राख्छ।

बानी र कर्म

आध्यात्मिकता, हामी भित्र भएका सबै अचेत ढाँचाहरू तोड्ने मुलभूत उपकरण हो। हामी जसलाई कर्म भन्छौं त्यो पनि यही नै हो। कर्म भनेको तपाईंले अचेत रूपमा आफ्नो लागि ढाँचाहरू सिर्जना गर्दै हुनुहुन्छ, केवल तपाईंको व्यवहारको बारेमा मात्र होइन, बरु तपाईंमा जीवन कसरी घट्छ भन्ने बारेमा पनि। यदि मानिसहरूले आफ्नो जीवनलाई हेर्छन् भने, उनीहरूको जीवनमा कस्तो परिस्थितिहरू कसरी घट्छन्, कस्तो अवसरहरू कसरी आउँछन्, उनीहरूले मानिसहरूलाई कसरी भेट्छन्, यी सबै केही प्रकारको  ढाँचामा हुन्छ। यो केवल तपाईंले सिर्जना गरेको कर्मको ढाँचाको कारणले हो।

बानी भनेको कर्मको ढाँचाको एउटा सानो अभिव्यक्ति हो। तपाईंले एउटा निश्चित कुरा लिनुहुन्छ र त्यसबाट ढाँचा बनाउनुहुन्छ र त्यो तपाईंको बानी बन्छ। आध्यात्मिक प्रक्रिया अर्थात्; तपाईं यो चाहनुहुन्न कि तपाईं भित्र कुनै पनि कुरा अचेत रूपमा घटोस्। आफ्नो जीवनलाई अचेत रूपमा सञ्चालन गरि बाँच्नु जीवन जिउने बुद्धिमानी तरिका होइन। तपाईंले बानी आफ्नो कोक्रोमा लिनुभयो वा आफ्नो आमाको गर्भमा वा त्यो भन्दा पहिले नै लिनुभयो, त्यसको कुनै महत्व छैन। यदि तपाईं विकास खोज्दै हुनुहुन्छ, यदि तपाईं मुक्ति खोज्दै हुनुहुन्छ भने, तपाईंले आफ्ना सबै ढाँचाहरू तोड्नुपर्छ - राम्रो मात्र वा नराम्रो मात्र होइन, बरु सबै। तपाईंले चिहानसम्म पर्खनु पर्दैन। चिहानले पनि सबै ढाँचाहरू तोड्ने छैन।

तपाईं चिहानमा गएपनि, तपाईंको शरीर जलेपनि, तपाईंका ढाँचाहरू टुट्दैनन्। त्यही नै कर्म हो। यो त्यो भन्दा पनि पर जान्छ किनभने तपाईंले आफ्नो शरीर गुमाएर यी ढाँचाहरू तोड्नुहुन्न। त्यसैले जब तपाईं जीवित र होसमा हुनुहुन्छ, तपाईंले यी ढाँचाहरू भन्दा माथि उठ्ने प्रयास गर्नु अत्यन्त महत्वपूर्ण छ।

ढाँचालाई भत्काउनुहोस् र आफ्नो जीवनलाई सचेत रूपमा सम्हाल्नुहोस्। उदाहरणको लागि, म अहिले बोल्दैछु - म कि त बानी अनुसार वा सचेत रूपमा बोल्न सक्छु। त्यो नै ठूलो फरक हो। म बसेर गफ मात्रै गरिरहेको भए पनि यसले केही फरक पार्दैन, अझै दश हजार मानिसहरू सुन्न चाहन्छन् किनभने हरेक शब्द सचेत रूपमा उच्चारण गरिएको छ, बानी अनुसार होइन। यसमा कुनै बानी छैन। म के भनिरहेको छु त्यसको सामग्री जे भए पनि, मानिसहरू अझै सुन्न चाहन्छन् किनभने हरेक शब्द सचेत रूपमा आइरहेको छ, र त्यसमा शक्ति छ। यदि तपाईंले हरेक सास भित्र र बाहिर सचेत रूपमा लिनुहुन्छ भने, एक्कासि तपाईंको सासमा फरक किसिमको शक्ति हुन्छ। तपाईंको जीवनको हरेक गतिविधि, यदि तपाईंले त्यसलाई सचेत रूपमा बनाउनुहुन्छ भने, हरेक गतिविधिमा अद्भुत शक्ति हुन्छ। यदि तपाईं जीवनको शक्तिबारे जान्न चाहनुहुन्छ भने, तपाईं यसको बारेमा सचेत बन्नुपर्छ, नत्र यो तपाईंको लागि अस्तित्वमै रहँदैन।

Editor’s Note: Find more of Sadhguru’s insights in the book “Of Mystics and Mistakes.” Download the preview chapter or purchase the ebook at Isha Downloads.