साधकको यात्रामा कर्म योगको उद्देश्य
सद्गुरुले व्याख्या गर्नुहुन्छ कि साधकको विकासको एक निश्चित चरणमा किन गतिविधिको आवश्यकता हुन सक्छ, र कसरी हामीसँग गतिविधि माथि शासन गर्ने वा त्यसको सेवा गर्ने विकल्प हुन्छ।

प्रश्न: सद्गुरु, म कर्म योग वा कार्य बाट कसरी पार पाउन सक्छु? व्यक्तिगत रूपमा, मलाई केही गर्ने इच्छा छैन। मलाई यस्तो लाग्छ कि म केही नगर्ने स्थितितर्फ बढिरहेको छु।
सद्गुरु: जब कुनै व्यक्तिले परम सत्यलाई आफ्नो जीवनको लक्ष्य बनाएको हुन्छ, कर्म अर्थहीन बन्छ। एकपटक कर्म अर्थहीन भएपछि, कुनै पनि प्रकारको आत्म-छवि महत्वपूर्ण हुँदैन; तर अहिले, तपाईं जुन अवस्थामा हुनुहुन्छ, त्यहाँ अझै पनि कार्यको आवश्यकता छ। तपाईं अझै त्यस बिन्दुमा पुग्नुभएको छैन जहाँ तपाईंले कार्यलाई पार गर्नुभएको छ। तपाईं कार्यबिना रहन असमर्थ हुनुहुन्छ। त्यसैले, त्यो खालको कार्य गर्नुहोस् जुन तपाईंलाई अहिलेको समयमा सबैभन्दा सही लाग्छ, परिस्थितिको लागि के आवश्यक छ त्यो गर्नुहोस्।जुन व्यक्तिलाई कार्यबारे थाहा छैन - वास्तविक, तीव्र कार्य - उ कहिल्यै निष्कार्य तर्फ जान सक्दैन। यदि तपाईं प्रयास गर्नुहुन्छ भने, निष्कार्य केवल आलस्य बन्नेछ। ती मानिसहरू जो आफ्नो जीवनमा सधैं आराम गरिरहन्छन्, उनीहरू आरामका विशेषज्ञ हुनुपर्ने हो, तर त्यो सत्य होइन। जो कहिल्यै आगोमा बलेका छैनन्, उनीहरूले पानीको शीतलता जान्ने छैनन्। ति मानिसहरू जसले आफ्नो जीवन आधा मन लगाएर, अल्छी भएर बिताएका छन्, उनीहरूले अर्को पाटो कहिल्यै जान्न सक्दैनन्। त्यसैले, तीव्र गतिविधि, कम्तीमा केही समयको लागि तपाईंको ऊर्जाहरूलाई उम्लने बिन्दुसम्म पुर्याउन र चलाउनको लागि उपयोगी हुन सक्छ। त्यसपछि, तिनीहरूलाई अर्को कुरामा रूपान्तरण गर्न धेरै सजिलो हुन्छ। त्यही हो कर्म वा कार्यको पूरा उद्देश्य। एक साधकले यसै कारणले कर्म छनौट गर्छ। हामीले जसै पनि कार्य गर्ने नै छौँ । तर हामीसँग कि त एडोल्फ हिटलर जस्तो वा महात्मा गान्धीको जस्तो कार्य गर्ने विकल्प छ। कुरा त्यति नै हो। जसरी पनि हामीले कार्य गर्नैपर्छ, त्यसैले त्यसलाई पूरा मन लगाएर गरौं र कार्यको रूप छनौट गरौं।
शासन गर्ने वा सेवा गर्ने - तपाईं के रोज्नुहुन्छ ?
के तपाईं संसारमा शासन गर्न चाहनुहुन्छ वा सेवा गर्न चाहनुहुन्छ? अन्ततः, यही विकल्प छ। सामान्यतया, सबैले संसारमा शासन गर्न चाहन्छन्। तर कुरा यस्तो छ कि धेरैजसो मानिसहरू आधा-अधुरो मन भएका छन्, उनीहरू केवल आफ्नो परिवारमा शासन गर्न सक्षम छन्! तर वास्तवमा उनीहरू संसारमा शासन गर्न चाहन्छन्। तर उनीहरूसँग त्यसो गर्ने क्षमता वा तीव्रता छैन। नत्र, उनीहरू सम्भावित हिटलर हुने थिए।
त्यसैले, छनौट शासन गर्ने वा सेवा गर्ने हो। तपाईंलाई जुन प्रकारको कार्य सबैभन्दा सद्भावपूर्ण र दिव्यता र आत्मज्ञानको नजिक लाग्छ त्यो छनौट गर्नुहोस्। हरेक क्षण, एक क्षणको पनि विश्राम नगरी, एकदमै तीव्रताका साथ त्यो गर्नुहोस्। त्यसपछि, एक दिन आउनेछ जब कार्यको आवश्यकता रहँदैन। यदि तपाईं वास्तवमै यो "निष्कार्य" बारे जान्न चाहनुहुन्छ भने, सर्वप्रथम तपाईंले कार्य के हो भनेर पत्ता लगाउनुपर्छ। तपाईंले त्यो अझै गर्नुभएको छैन। हरेक जाग्रत क्षणमा र मेरो निद्रामा पनि, म निरन्तर रूपमा आफूलाई शारीरिक र मानसिक रूपमा अर्पण गर्ने कार्य गर्दछु। मेरो जीवनमा यो सबै त्यसैबाट भएको हो। यो यति शक्तिशाली भएको छ किनभने यसले मेरो लागि केही अर्थ राख्दैन, तर म चौबीसै घण्टा यसमा छु। यसको फरक किसिमको शक्ति छ। त्यही हो बलिदानको पूरा अर्थ। केवल यसको मार्फत, केही कुरा साकार हुन्छ - भित्र र बाहिर दुवै - जसलाई शब्दमा कहिल्यै व्यक्त गर्न सकिँदैन।
यस संसारमा हरेक शक्तिशाली व्यक्ति यसरी नै सिर्जना भएको हुन्छ। यो वास्तवमै शक्तिशाली जीव सिर्जना गर्ने विज्ञान हो। यो शासन गर्ने शक्ति होइन। यो त्यस्तो शक्ति होइन जुन कुनै पनि क्षण खोसिन सक्छ। कसैले यसलाई खोस्न सक्दैन, किनभने तपाईंलाई जहाँ राखिए पनि, तपाईंले त्यही गर्नुहुन्छ। यदि तपाईं शासन गर्न चाहनुहुन्छ भने, तपाईं आसनमा बस्नुपर्छ। यदि कसैले तपाईंलाई आसनबाट हटाउँछ भने, तपाईं दुःखी हुनुहुनेछ। यो त्यस्तो होइन। तपाईंलाई जहाँ राखिए पनि - स्वर्ग वा नर्क - तपाईं बस् आफ्नो काम गर्नुहुन्छ। यसले तपाईंलाई कर्मको फलबाट मुक्त गर्छ। एकपटक तपाईं कर्मको फलबाट मुक्त हुनुभयो भने, कार्य आफै हुनेछ। कर्मबाट मुक्त हुन तपाईंले काम गर्न रोक्नु पर्दैन। यो सजिलै विघटन हुनेछ, पग्लनेछ र हराउनेछ। एकपटक कर्मको फलको अपेक्षा तपाईंको जीवनबाट पूर्ण रूपमा हट्छ भने, कर्म आफै हुन्छ। तपाईंले यसको बारेमा केही गर्नु पर्दैन।
काम नगरी, खान पाइँदैन
एउटा जेन मठमा, असी वर्ष नाघि सकेका एक वृद्ध गुरु थिए। हरेक दिन, उनी बगैंचामा पूरा मन लगाएर काम गर्थे। जेन मठहरूमा बगैंचाको हेरचाह गर्नु साधनाको सबैभन्दा महत्वपूर्ण पक्षहरू मध्ये एक हो। दिनहुँ, मानिसहरू बगैंचामा समय बिताउँछन्। यी गुरुले यो काम वर्षौंदेखि गर्दै आएका थिए। अहिले, उनी असी वर्षभन्दा माथि थिए र कमजोर पनि भएका थिए, तापनि उनले यो रोकेनन्। दिनभरि, उनी बगैंचामा काम गर्थे। धेरै पटक उनका शिष्यहरूले उनलाई रोक्ने प्रयास गरे, "काम गर्न छोड्नुहोस्, हामी सबै यहाँ छौं, हामी गर्छौं।" तर उनी आफूले जे गर्न सक्थे त्यो गरिरहे। शारीरिक रूपमा काम गर्ने उनको क्षमता घटेको हुन सक्छ, तर तीव्रता घटेको थिएन।
त्यसैले, एक दिन शिष्यहरूले उनका औजारहरू लगेर कतै लुकाए, किनभने उनी यी औजारहरूसँग मात्र काम गर्थे। त्यस दिन, उनले खाएनन्। अर्को दिन पनि, औजारहरू थिएनन्, त्यसैले उनले खाएनन्। तेस्रो दिन पनि, औजारहरू थिएनन्; उनले खाएनन्। त्यतिबेला उनीहरू डराए, "ओहो! हामीले औजारहरू लुकायौं, त्यसैले गुरु रिसाउनु भयो र खानु भएन।" एकपटक फेरि, उनीहरूले औजारहरू साधारणतया जहाँ राखिन्थ्यो त्यहीं राखिदिए। चौथो दिन, उनले काम गरे र खाए। त्यसपछि साँझमा, उनले आफ्नो शिष्यहरूलाई शिक्षा दिए र भने : "काम नगरी, खान पाइँदैन," र त्यसपछि उनी त्यहाँबाट गए र उनको मृत्यु भयो। त्यो उनको अन्तिम दिन थियो। चार दिनको उपवास उनको लागि अति नै भयो; तर अन्तिम दिन उनले काम गरे, खाए, त्यसपछि आफ्नो शरीर त्यागे र केवल यहि शिक्षा दिएर गए "काम नगरी, खान पाइँदैन"। यस्तो मान्छेको लागि कर्म यस्तै हुन्छ। नर्क होस् वा स्वर्ग होस् वा पृथ्वी, तपाईंले उसलाई जहाँ राखे पनि उ उस्तै रहन्छ। एकपटक तपाईं यस्तो हुनुभयो भने, तपाईं बाहिरी परिस्थितिबाट मुक्त हुनुहुन्छ।
आँखा चिम्लेर मात्र तपाईं मुक्त हुन सक्नुहुन्न। आँखा खोल्ने बित्तिकै सबै कुरा फर्केर आउँछन् र तपाईंलाई समात्छन्। परिस्थितिबाट भागेर गई पहाडमा बसे पनि तपाईं स्वतन्त्र हुन सक्नुहुन्न। यसलाई काम गरेरै सुल्झाउनु पर्छ। यसलाई सुल्झाउने तरिका यही हो।
Editor’s Note: Excerpted from Mystic’s Musings. Not for the faint-hearted, this book deftly guides us with answers about reality that transcend our fears, angers, hopes, and struggles. Sadhguru keeps us teetering on the edge of logic and captivates us with his answers to questions relating to life, death, rebirth, suffering, karma, and the journey of the Self. Download the sample pdf or purchase the ebook.