आफ्नो कर्मको कारखाना बन्द गर्नुहोस् - भाग १
सद्गुरु बताउनुहुन्छ कि यदि हामीले हाम्रा विचार र मनसायहरू द्वारा कर्मलाई नथुपार्ने हो भने, जीवनको प्रक्रिया आफैंले त्यसलाई विसर्जन गर्दछ ।

Pre-order Sadhguru's new book - Karma: A Yogi's Guide to Crafting Your Destiny
पहिलो भागमा, सद्गुरु बताउनुहुन्छ कि यदि हामीले हाम्रा विचार र मनसायहरूद्वारा कर्मलाई नथुपार्ने हो भने, जीवनको प्रक्रिया आफैंले त्यसलाई विसर्जन गर्दछ ।सद्गुरु: तपाईंको जीवनको हरेक क्षण, चाहे तपाईं केही गर्नुहोस् वा नगर्नुहोस्, तपाईंको कर्म विसर्जन भइरहेको हुन्छ। जीवनको प्रक्रिया नै कर्मको विसर्जन हो। तपाईंसँग निश्चित मात्रामा निर्धारित कर्म हुन्छ, जसलाई हामी प्रारब्ध भन्छौं। प्रारब्ध आफैंमा विसर्जन भइरहेको हुन्छ। तर समस्या यो हो कि उत्पादन कारखानाले ओभरटाइम काम गरिरहेको छ - अर्थात् नयाँ कर्म तीब्र गतिमा थुप्रिँदै छ। विसर्जन केवल निश्चित गतिमा मात्र हुन सक्छ; तर मानिसहरू उत्पादनमा धेरै कुशल हुन सक्छन् !
उदाहरणका लागि, तपाईंको जीवनको एउटा साधारण दिनमा, बिहान उठेको क्षणदेखि राति सुत्न जानुअघिसम्म, यदि तपाईंले वास्तवमा गर्ने क्रियाकलाप र तपाईंले सोच्ने कुराहरूको तुलना गर्नुभयो भने, तपाईंले सोच्नुभएको कुरा तपाईंले गर्ने कामभन्दा पचास गुणा बढी हुन सक्छ। जब म पचास भन्छु मैले यो अनुमान निकै कन्जुसका साथ लगाएको हुँ। तपाईं आफूले विसर्जन गर्न सक्नेभन्दा पचास गुणा बढी कर्म उत्पादन गरिरहनुभएको छ। यो क्यालोरी जस्तै हो। तपाईं ६०० क्यालोरीको काम गर्दै हुनुहुन्छ तर ६००० क्यालोरी खाँदै हुनुहुन्छ - यो कतै न कतै त थुप्रिनै पर्छ।
आफ्नो कर्मको कारखाना बन्द गर्नुहोस्
मानौं तपाईंले कुनै कर्म गर्नुहुन्न - निष्कर्म - तपाईं केवल बस्नुहुन्छ । यसको मतलब कर्म अहिले पनि उही गतिमा काम गरिरहेको छ; तर तपाईंले केही उत्पादन गरिरहनुभएको छैन। यही कारणले गर्दा आध्यात्मिक वातावरण यसरी बनाइएको छ कि तपाईंले कहिले खाने भनेर निर्णय गर्नुहुन्न। घण्टी बज्छ र तपाईं खान जानुहुन्छ। तपाईंले के खाने भनेर निर्णय गर्नुहुन्न। जे पस्किएको छ त्यही खुशीसाथ खानुहुन्छ। तपाईंले छनोट गर्नुहुन्न। हामी खानाको आनन्द लिनुको बिरुद्धमा छैनौँ, तर खाना खाने साधारण कार्यमा पनि तपाईंले यति धेरै इच्छा गरेर, सोचेर र यी सबै कुरालाई बढाएर धेरै कर्म बटुल्नुहुन्छ।
आखिरमा, तपाईं केवल निश्चित मात्रा खान सक्नुहुन्छ। यदि खाना राम्रो छ र तपाईंलाई धेरै मन पर्यो भने सायद तपाईंले ५% बढी खानुहुन्छ होला । यदि तपाईं १०% भन्दा माथि जानुभयो भने तपाईं समस्यामा पर्नुहुन्छ। खानाको यो सामान्य कार्यको लागि, मानिसहरूको दिमागमा कति धेरै कुरा चलिरहेको हुन्छ ! म अरुले जत्तिकै गरी खानाको आनन्द लिन्छु, तर तपाईंले खानालाई जिब्रोमा वा पेटमा राख्नुपर्छ। वा यदि तपाईंलाई पकाउन मन लाग्छ भने, तपाईंले त्यसलाई भाँडोमा राख्नुपर्छ। मलाई पकाउन मन लाग्छ, त्यसैले म त्यसलाई भाँडोमा राख्छु। यदि मलाई खाना मन पर्यो भने म त्यसलाई जिब्रोमा वा पेटमा राख्छु। तर तपाईं यसलाई दिमागमा राखिरहनुभएको छ - त्यो खाना राख्ने ठाउँ होइन। दिमाग र खाना सँगै जान सक्दैन - तपाईंले कर्म सिर्जना गरिरहनुभएको छ।
कृपया तपाईंको जीवनको हरेक पक्षलाई यसरी नै हेर्नुहोस्। तपाईंले दैनिक रूपमा विसर्जन गरिरहनुभएको भन्दा पचास वा सय गुणा बढी कर्म सिर्जना गरिरहनुभएको छ। जब तपाईं खाना पकाउनुहुन्छ वा जब तपाईं खुशीसाथ खानुहुन्छ, पचाउनुहुन्छ र यसलाई आफ्नो अंश बनाउनुहुन्छ, तपाईंले कर्म विसर्जन गर्दै जानुहुन्छ। जीवनको सामान्य प्रक्रिया आफैंले कर्म विसर्जन गर्नेछ।
आध्यात्मिक मार्ग भनेको हामी तपाईंको कर्म प्रक्रियालाई द्रुत गतिमा राख्न चाहन्छौं। हामी निर्धारित भारभन्दा ठूलो कर्मको भार लिन चाहन्छौं; किनभने हामी फेरि एउटै कुरा दोहोर्याउनको लागि फर्केर आउन चाहँदैनौं। हामी यसलाई अहिले नै समाप्त गर्न चाहन्छौं। यो एउटा व्यक्तिले गर्नुपर्ने सचेत छनोट हो - के तपाईं यसमाथि बिस्तारै काम गर्न चाहनुहुन्छ वा तपाईं सबै बकवास जति सक्दो चाँडो सकियोस् भन्ने चाहनुहुन्छ।
यदि तपाईं सक्रिय आध्यात्मिक प्रक्रियामा प्रवेश गर्नुभयो भने, अचानक तपाईंले सबै कुरा चकित पार्ने गतिमा अघि बढिरहेको पाउन सक्नुहुन्छ। तपाईंले देख्नुहुनेछ, तपाईं पहिलेभन्दा बढी समस्यामा हुनुहुन्छ। पहिले, समस्याहरू तपाईंकहाँ छ महिनामा एकपटक आउँथे। अब, हरेक छ घण्टामा तपाईं गहिरो समस्यामा हुनुहुन्छ किनभने तपाईंको कर्म प्रक्रिया छिटो गतिमा चलिरहेको छ। केवल ति मूर्खहरू जसले आफूलाई जीवनबाट टाढा राखेका छन्, उनीहरूले मात्र आध्यात्मिकताको अर्थ शान्त हुनु हो भन्ने विश्वास गर्छन्। होइन। आध्यात्मिक हुनु भनेको आगोमा हुनु हो - भित्र, बाहिर, सबैतिर। शान्ति तब मात्र हुन्छ जब तपाईं चिरशान्तिमा विश्राम गर्नुहुन्छ। यो उल्लासमय जीवनको समय हो! यदि तपाईं धेरै आनन्दित र खुशी हुनुहुन्थ्यो भने, के तपाईंले शान्त हुने बारेमा सोच्नुहुन्थ्यो? त्यस्तो विचार तपाईंको मनमा आउने नै थिएन।
कर्मको स्प्रिङ्ग
दुर्भाग्यवश, आजकाल मानिसहरूले जीवनलाई कसरी तीव्र बनाउने भनेर हेरिरहेका छैनन्; हामी सधैं जीवनलाई कसरी लम्ब्याउने भनेर हेरिरहेका छौं। यस कारणले गर्दा, धेरै मानिसहरूले एक निश्चित बिन्दु पछि आफ्नो स्मृति र मानसिक क्षमताहरू गुमाउँछन्; र यस्तो समस्याहरू आउनु पछाडिको कारक कर्म हुन्छ।
कर्म भनेको एक निश्चित किसिमको सफ्टवेयर हो, जसलाई तपाईंले अचेतन रूपमा सिर्जना गर्नु भएको छ। तपाईं जन्मनुअघि, गर्भाधान भएको ४० देखि ४८ दिनको बीचमा, यो कर्मको धागो स्प्रिङ्गको कोइल जसरी आफै कसिन्छ। विगतको जानकारी, तपाईंको शरीरको शक्ति, तपाईंका अभिभावकको प्रकृति, गर्भाधानको प्रकार र विभिन्न कारकहरूको आधारमा, यसले स्प्रिङ्गमा कस्सिनको लागि निश्चित मात्रामा जानकारी छनोट गर्छ। यो एक स्प्रिङ्गको कोइल जस्तै हो। यदि तपाईं केवल बस्नुभयो भने, यो बिस्तारै आफैं खुल्नेछ। तपाईं जति स्थिर बस्नुहुन्छ, त्यति नै छिटो यो खुल्नेछ; तर किनकि तपाईं क्रियाकलापमा हुनुहुन्छ र तपाईं नयाँ कुराहरू पनि थुपार्दै हुनुहुन्छ, यो निश्चित गतिमा खुल्छ। जब कसैको जन्म हुन्छ र म उसको कर्मको रेशामा भएको तनाव हेर्छु भने, म सजिलै भन्न सक्छु कि त्यो बच्चा लगभग कति वर्ष बाँच्नेछ - यदि कुनै मातेको ड्राइभरले बच्चालाई ठक्कर हान्दैन, वा यदि उ कुनै आध्यात्मिक गुरुको सम्पर्कमा आउँदैन भने! यदि उसले केवल सामान्य जीवन बिताउँछ भने, हामी भन्न सक्छौं कि ऊ कति लामो समय बाँच्नेछ। किनभने हामीलाई थाहा हुन्छ कि कोइल कुन गतिमा आफैंलाई खुल्नेछ ।
भारतमा जब कुनै बच्चाको जन्म हुन्थ्यो, तब परिवारले गर्ने एउटा सामान्य कुरा भनेको; उनीहरूले योगी वा ऋषिलाई घरमा निम्त्याउने गर्थे, वा उनीहरूले बच्चालाई त्यहाँ लैजान्थे; किनभने उनीहरू चाहन्थे कि योगीले बच्चालाई महसुस गरुन। यो चलन आजकल पनि रहेको छ तर सामान्यतया जन्मदिनको पार्टीहरूले यी कुराहरूको ठाउँ लिएको छ। अन्यथा, यो सबैभन्दा महत्त्वपूर्ण कुरा थियो। तपाईं आफ्नो बच्चालाई कुनै यस्तो व्यक्तिकहाँ लैजान चाहनुहुन्छ जसले स्प्रिङ्ग धेरै कस्सिएको छ कि छैन भनेर हेर्न सक्छ, र बच्चाको खुसियालीको लागि त्यसलाई ठीक गर्न सक्छ। तर पनि, मातेको ड्राइभरले उसलाई ठक्कर दिइ मार्न सक्छ। वा कुनै गुरु आएर या त त्यसलाई छिटो खोल्न सक्छ वा उसको वर्तमान भारमा धेरै जन्मको कर्म थप्न सक्छ। त्यसैले, यदी यस्तो केही हुदैन र यो फेरि पूरै कस्सिदैन वा धेरै छिटो खुल्दैन भने कर्मले निश्चित तरिकाले आफैलाई बिसर्जन गर्छ। यी कुराहरू केही समस्याहरूका कारण हुन सक्छन्।
आजकाल, हामी कर्मको रेशाको ख्याल नगरी केवल मानिसको भौतिक जीवनलाई लम्ब्याउने कोशिश गरिरहेका छौं; किनभने हाम्रो बायोकेमेस्ट्री माथि केही मात्रामा निपुणता छ। हामी औषधि र शल्यक्रियाको प्रयोग गरेर जीवनलाई तन्काउने कोशिश गरिरहेका छौं। एक निश्चित बिन्दु पछि धेरै मानिसहरूले आफ्नो स्मृति र मानसिक क्षमताहरू गुमाउने यो एउटा प्रमुख कारण हुन सक्छ; किनभने यो एउटा थोत्रो कम्प्युटर बन्छ - तपाईं जे गर्न चाहनुहुन्छ गर्नुहोस्, त्यसले केवल तपाईंलाई हेरिरहन्छ किनभने सफ्टवेयर सकिएको छ, तर हार्डवेयरलाई शल्यक्रियाको साथ नयाँ मुटु वा मृगौला द्वारा अझै चलाइरहेको हुन्छ।
यदि उनीहरूले आफ्नो जीवनको अर्को आयामलाई बढाउन प्रयास गरेका थिए र भौतिकताभन्दा पर रहेको कुनै आध्यात्मिक काम गरेका थिए भने तब तपाईं हजार वर्षसम्म बाँचे पनि आवश्यक सफ्टवेयर उत्पन्न गर्न सक्नुहुन्छ किनभने अन्यत्र धेरै सामग्री छ। त्यहाँ कर्मको एउटा गोदाम छ जसलाई अहिलेसम्म खोलिएको छैन जसलाई सञ्चित भनिन्छ। वा, तपाईंले आफूलाई यसरी प्रोग्राम गर्न सक्नुहुन्थ्यो कि जब तपाईंको सफ्टवेयर सकिदै जान्छ तपाईंसँग आफ्नो हार्डवेयर त्याग्ने स्वतन्त्रता पनि रहनेछ।