दोस्रो भागमा, सद्‌गुरुले सपनाको प्रकृति र यसले कर्मको विसर्जनसँग कसरी सम्बन्ध राख्छ भन्ने बारे चर्चा गर्नुहुन्छ।

सद्‌गुरु: कर्म धेरै कुरा हो। हामी एउटै कर्मको बारेमा विभिन्न तहमा कुरा गर्छौं, अहिलेको व्यक्तिको बुझाई अनुसार। कर्म भनेको कार्य हो। कसको कार्य ? "मेरो कार्य।" पहिलो कुरा यो बुझ्नु हो, "यो विसर्जन भइरहेको छ किनभने यसको सर्जन मैले गरेको थिएँ।" विसर्जन स्वचालित जस्तो देखिन्छ। "यसमा मेरो संलग्नता पनि चाहिँदैन। यो आफै हुन्छ। मेरो रिस आफै आउँछ, मेरा विचारहरू आफै आउँछन्, मेरा भावनाहरू आफै आउँछन्।" यो हुनको लागि कुनै इच्छा वा संलग्नता चाहिँदैन। यो सजिलै भइरहेको छ। यो सबै कुनै अर्को प्राणीले गरिरहेको जस्तो देखिन्छ। यदि तपाईं केही समय मौन बस्नुहुन्छ, र मन कसरी चलिरहेको छ भनेर हेर्नुहुन्छ भने, यो लगभग तपाईंलाई कुनै अर्को चीजले कब्जा गरेको जस्तो लाग्छ। मानौं यसले आफ्नै काम गरिरहेको छ। तर यसले तपाईंको गरेको कुराको विसर्जन मात्र गरिरहेको छ।

अब, के जीवन सबै सर्जन हो, सपना सबै विसर्जन हो? होइन। जीवन सर्जन र विसर्जनको मिश्रण हो। जति बढी तपाईं अचेत हुनुहुन्छ, त्यति नै बढी विसर्जन भइरहेको हुन्छ। यदि तपाईं आंशिक रूपमा सचेत हुनुहुन्छ भने, तपाईंले धेरै सर्जन गर्नुहुनेछ। यदि तपाईं पूर्ण रूपमा सचेत हुनुहुन्छ भने, विसर्जन धेरै छिटो हुनेछ, सर्जन पूर्ण रूपमा रोकिनेछ। चेतनाको आंशिक स्तरले सधैं विसर्जन भन्दा बढी सर्जन गर्छ। उदाहरणका लागि, एक साधारण किसान केवल आफ्नो कर्म विसर्जन गरिरहेको छ। उसले धेरै कुराहरू प्राप्त गरिरहेको छैन। ऊ बिहान उठ्छ, आफ्नो जमीन जोत्छ, आफ्ना जनावरहरूको हेरचाह गर्छ, गर्नुपर्ने साधारण कामहरू गर्छ र त्यति नै हो। ऊ त्यहाँ संसार कसरी जित्ने भनेर सोचिरहेको छैन। त्यसैले उसको जीवन मुख्यतया विसर्जन हो। यस्तो होइन कि उसले केही गर्दैन, तर उसको सर्जन विसर्जन भन्दा धेरै कम छ किनभने उसको जीवनको प्रकृतिले धेरै सर्जन गर्न दिँदैन; यो धेरैजसो विसर्जन हो, तर एकपटक तपाईं शिक्षित हुनुहुन्छ, तपाईंको सर्जन र विसर्जन राम्ररी मिसिएर जान्छ, तपाईं एकैसाथ विसर्जन र सर्जन गर्न सक्षम हुनुहुन्छ।

शिक्षाको भूमिका

एक तहमा, तपाईंको विचार र भावना अचेत तरिकाले काम गरिरहेका छन्। अर्को तहमा, तपाईंसँग पूरा गर्नुपर्ने इच्छाहरू छन्। यो मानिसहरूलाई सधैं भइरहेको छ। म यो सबै शिक्षालाई दोष दिन चाहन्न, तर सामान्यतया, तपाईंले प्राप्त गर्ने शिक्षाको प्रकार नै यसको कारण हो - यसले तपाईंमा बलियो इच्छाहरू स्थापित गर्छ। आजको शिक्षा जान्ने प्रक्रिया होइन, यो बुझ्ने प्रक्रिया होइन, यो तपाईंको शरीर वा मनलाई यसको पूर्ण क्षमतामा विकास गर्ने प्रक्रिया होइन। यसले तपाईंभित्र धेरै बलियो इच्छाहरू र महत्वाकांक्षाहरू स्थापित गर्छ।

यो कर्म सिर्जना गर्ने शक्तिशाली उपकरण हो: इच्छा। यो कार्य  होइन, इच्छा नै हो जसले कर्म उत्पन्न गर्छ।

शिक्षित मानिसहरू असीमित चाहनाहरूसँग पीडित छन्। उनीहरूले पेट भरी खाएर खुसीसँग बसेर सुत्न सक्दैनन्। होइन। उनीहरू खाँदा पनि व्यापारको कुरा गरिरहेका हुन्छन्। यो यसकारण होइन कि उनीहरूले संसारको लागि केही गर्ने जिम्मा लिएका छन्, केही सिर्जना गर्न, केही निर्माण गर्न, आफ्नो वा सबैको जीवन राम्रो बनाउन। होइन। उनीहरू केवल आफूले गरिरहेको बेकारको काम अझै बढी गर्न चाहन्छन् किनभने कुनै विशेष उद्देश्य बिना नै धेरै बलियो इच्छाहरू स्थापित भएका छन्। यो कर्म सिर्जना गर्ने शक्तिशाली उपकरण हो: इच्छा। यो कार्य होइन, इच्छा नै हो जसले कर्म उत्पन्न गर्छ।

कार्मिक प्रक्रियामा, विसर्जन क्रियाकलापको कारणले भइरहेको छ। सर्जन बलियो इच्छाहरूको कारणले भइरहेको छ। जति बढी तपाईं आफ्नो बारेमा सोच्नुहुन्छ, तपाईंका इच्छाहरू त्यति नै बलियो हुन्छन्। जब म इच्छाहरूको कुरा गर्छु, म महान इच्छाहरूको कुरा गरिरहेको छैन - म बलियो इच्छाहरूको कुरा गरिरहेको छु। जब तपाईं रिसमा हुनुहुन्छ, तपाईं विसर्जन गरिरहनु भएको हुन सक्छ, तर तपाईं सर्जन पनि गरिरहनु भएको हुन सक्छ। तपाईं केवल रिसमा फुट्न सक्नुहुन्छ र शान्त हुन सक्नुहुन्छ। वा तपाईं रिसमा फुट्न सक्नुहुन्छ र त्यसपछि एउटा इच्छा सिर्जना गर्न सक्नुहुन्छ: "तिमीलाई थाहा छ म उनलाई के गर्न चाहन्छु?" अब तपाईं ठूलो मात्रामा सर्जन गर्नुहुनेछ। रिस केवल विस्फोट हो। रिस केवल तपाईंभित्र भएको कुनै कुराको विसर्जन हो। रिसले घृणा जन्माउन सक्छ। घृणा एउटा इच्छा हो। घृणा त्यो रिस हो जसले इच्छा लिएको छ। ईर्ष्या एउटा विसर्जन हुन सक्छ, हामी भन्न सक्छौं डाह एउटा इच्छा हो - यो ईर्ष्या हो जसले इच्छा लिएको छ। अब, एक निश्चित शीतलतासँग, तपाईं रिसाएको भए पनि, यदि तपाईं घृणालु हुनुहुन्छ भने, तपाईं अब आफ्नो रिस वा घृणा देखाउनुहुन्न। तपाईं शान्त अनुहार लगाउनुहुन्छ र तातो कामहरू गर्नुहुन्छ, होइन र? वासना उदाहरणका लागि एउटा विसर्जन हो। जोश सर्जन हो किनभने यो एउटा इच्छा हो।

तथाकथित परिष्कृत

यदि तपाईंले तपाईंभित्र हुने सबै विचारहरू र भावनाहरूलाई अभिव्यक्त गर्नुभयो भने, तपाईं लगभग पाशविक देखिनुहुनेछ। त्यसलाई चिल्लो बनाउन, तपाईं एउटा इच्छा सिर्जना गर्नुहुन्छ - त्यो सर्जन हो। यो तथाकथित परिष्कार आत्महत्या जस्तै हो किनभने तपाईं लगातार विसर्जन भन्दा छिटो सर्जन गर्नुहुन्छ, किनभने मन दोहोरो अनुहार भएको हुन्छ। एक तहमा, यो विसर्जन गरिरहेको छ, अर्को तहमा, यसको आफ्नै इच्छाहरू छन्। तपाईंले तथाकथित परिष्कृत मानिसहरूलाई देख्नुहुनेछ - जब म "परिष्कृत" भन्छु, मेरो मतलब सामाजिक रूपमा परिष्कृत मानिसहरूसँग हो, साँच्चै परिष्कृत मानिसहरूसँग होइन - उनीहरू सधैं साधारण मानिसहरू भन्दा धेरै पीडित हुन्छन्। साधारण मानिसहरूको रिस, घृणा, र पूर्वाग्रहले खुला अभिव्यक्ति पाउँछन्। उनीहरू अशिष्ट देखिन सक्छन् तर चतुर्याईंको मामलामा, उनीहरू तथाकथित परिष्कृत मानिसहरू भन्दा धेरै अंक तल छन्। बढी परिष्कृत मानिसहरू, सुरुमा उनीहरू अरूलाई धोका दिन सिक्छन्। केही समयपछि, उनीहरू विशेषज्ञ बन्छन् र उनीहरू आफैलाई पनि धोका दिन सक्छन्। उनीहरूका इच्छाहरू आफैलाई पनि प्रकट हुँदैनन्।

शिक्षाले त्यो क्षमता बढाउँछ किनभने यसले तपाईंलाई विभिन्न प्रकारको अनुभव दिन्छ तर मानव मनले कसरी काम गर्छ, यो कसरी विकसित हुन्छ, के कुराले यसलाई फुलाउन सक्छ, के कुराले यसलाई फोहोर बनाउन सक्छ भन्ने राम्रो बुझाइ बिना - यी कुराहरूलाई कुनै गहिराइसँग हेरिएको छैन। जानकारी केवल सबै प्रकारका मानिसहरूलाई सबै प्रकारका रूपमा बाँडिएको छ। त्यसैले सामान्यतया, दुर्भाग्यवश, मानिसहरूले शिक्षालाई आफूलाई बाँध्नको लागि प्रयोग गरिरहेका छन्। आफ्नो वरिपरिको संसारको बारेमा, जानकारीको बारेमा, उनीहरूले बढी जान्न सक्छन्, तर जीवन प्रक्रियाको बारेमा, शिक्षित मानिसहरू सामान्यतया निरक्षर भन्दा बढी अज्ञानी छन्। यदि तपाईं भारतमा एक साधारण निरक्षर किसानको घरमा जानुभयो भने, उसको जीवनको बोध, उसको शरीरको बोध, उसको शारीरिक आरामको बोध, उसको कुन कुराले कससँग काम गर्छ र कुन कुराले गर्दैन भन्ने बोध संसारका धेरैजसो शिक्षित समुदायहरूको भन्दा धेरै स्पष्ट र समझदार छ। किनभने उसको मनमा त्यति धेरै भ्रमित विचारहरू छैनन्। ऊ आफ्नो दिमागमा खुकुलो छैन, जुन शिक्षित मानिसहरूको ठूलो भागमा भएको छ। यस्तो होइन कि शिक्षा आफैं दोषी छ, यो यसकारण हो कि कसैको भलाईको लागि यसको प्रयोग कसरी गर्ने भन्ने कुनै मार्गदर्शन छैन। त्यसैले दुर्भाग्यवश, शिक्षा जुन सशक्तिकरण हुनुपर्थ्यो, शिक्षा जुन स्पष्टता हुनुपर्थ्यो, त्यसले जीवन प्रक्रियाको बारेमा नै बढी भ्रम ल्याएको छ।

त्यसैले जाग्रत अवस्था र सपना - यी दुईबीच भेद नगर्नु नै राम्रो हुन्छ। म चाहन्छु कि तपाईंले यी दुवै अवस्थालाई या त सपनाको रूपमा हेर्नुहोस्, वा दुवै अवस्थालाई जाग्रत अवस्थाका विभिन्न तहहरूको रूपमा हेर्नुहोस्। यो एक प्रकारको सपना हो, त्यो गहिरो सपना हो। वा यो एक प्रकारको वास्तविकता हो, त्यो अर्को प्रकारको वास्तविकता हो। यदि तपाईंले यसलाई यसरी हेर्नुभयो भने, तपाईं दुवैलाई सर्जन भन्दा विसर्जनको प्रक्रियामा बदल्न सक्नुहुन्छ।

सम्पादकीय नोट: ईशा ब्लगबाट नवीनतम अपडेटहरू प्राप्त गर्नुहोस्। ट्विटर, फेसबुक, आरएसएस वा ब्राउजर एक्सटेन्सनहरू, आफ्नो रोजाइ गर्नुहोस्।